काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतमा जारी इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको सहभागिताबारे आफूलाई जानकारी नरहेको बताएका छन् ।
प्रेस सेन्टर मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नहुने भएकाले इण्डो प्यासिफिक रणनीतिमा सामेल हुनै नसक्ने जिकिर गरे ।
कार्यक्रममा उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको कार्यादेशबारे विवाद गर्नुको कुनै औचित्य नरहेको बताए ।
आयोगको कार्यादेशका बारेमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु बसेर यसअघि नै टुङ्गो लागिसकेकाले अहिले विवाद गर्नुको औचित्य नरहेको बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले सरकार सबै किसिमको भ्रष्टाचारका प्रकरणहरु छानबिन गर्न तयार भएर बसेको जिकिर गरे । उनले माओवादी केन्द्र पहिचानसहितको संघियताको पक्षमा रहेकाले जनताको चाहनाअनुसार अघि बढ्ने धारणा राखे ।