आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे



गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गदै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताएका हुन् ।

‘गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ’, उनले भने, ‘त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।’


नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

‘समाजमा देखिएका असन्तुष्टि र आक्रोशलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘हाम्रा सीमित स्रोत र साधनलाई अधिकतम् प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसतर्फ हामी सबैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ ।’

मुख्यमन्त्री पाण्डेले जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेकाले सबै मिलेर समस्यालाई समयमै नियन्त्रण गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकार विकासका लागि सञ्चारकर्मीसँग हातेमालो गरेर हिँड्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

‘गण्डकी प्रदेश सरकार पत्रकारिताको विकासका लागि पत्रकारिता क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको छ’, उनले भने, ‘सञ्चारकर्मीबाट सकारात्मक सहयोग र सुझावको अपेक्षा छ ।’ उनले गण्डकीलाई नमूना प्रदेश बनाउनका लागि सबैको सहयोगको आवश्यकता औँल्याए ।