काठमाडौं । अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन जाँदैछन् । चीनका समकक्षी ली क्वानको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज चीनको हाङझाव जान लागेका हुन् ।
स्थानीय समयअनुसार प्रधानमन्त्री आज राति साढे १ बजेको फ्लाइटबाट हाङझाव प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भोलि शनिबार बिहान १० बजे हाङजाओस्थित विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले स्वागत गर्नेछन् । त्यसपछि दिउँसो साढे १२ बजे प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच पहिलो भेट हुनेछ । सो क्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
उक्त औपचारिक भेटवार्ता सम्पन्न भएसँगै प्रचण्ड राति ८ बजे उदघाटन हुने १९ औँ एसिन खेलकुद समारोहमा सहभागी हुनेछन् । त्यसको अर्को दिन आइतबार मध्याह्न १२ बजे प्रचण्ड बेइजिङ पुग्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच औपचारिक द्विपक्षीय भेट सोमबार बिहान १० बजेका लागि तय भएको छ ।
सो क्रममा चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच हुने औपचारिक भेटवार्ताका लागि करिब २ घण्टाको समय निर्धारण गरिएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
८ दिने लामो भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने ‘नेपाल–चीन लगानी सम्मेलन’ लाई प्रचण्डले सम्बोधन गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार त्यसपछि प्रचण्डले चोङकिङ नगरपालिकामा रहेको कृषी र औद्योगिक विकासको निरीक्षण गर्नेछन् ।
प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन् ।