काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आज नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
हिजो नै साधारण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउने तयारी गरेको हो । जसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।
कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ बजे हुनेछ । यस्तै, उम्मेदवारको मनोनयन उपर उजुरी र छानविनका लागि बिहान ११ बजेर ४० मिनेटको समय तोकिएको छ ।
उम्मेदवारी फिर्ता लिन चाहनेले बिहान ११ बजेर ५५ मिनेटभित्र फिर्ता लिइ सक्नुपर्ने छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ ।
१७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ । १३ पदका लागि २० भन्दा बढी केन्द्रीय सदस्यका आंकक्षी रहेका छन् ।