काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि तीन दिन सवारी आवागमन प्रभावित हुने भएको छ ।
इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुर केन्द्रित जात्रा निकालिने हुँदा आज बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी आवागमन प्रभावित हुने भएको हो ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण ती स्थानमा सवारी साधन चलाउन रोक लगाइएको बताएको छ ।
असोज १२ गते (भोलि) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।