आईपीएसमा प्रधानसेनापतिको सहभागिताप्रति विप्लवकाे आपत्ति



काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको हिन्द प्रशान्त रणनीति (आईपीएस) सम्मेलनमा सहभागिताप्रति आपत्ती जनाएको छ ।

पार्टीका महासचिव विप्लवले आज एक वक्तव्य प्रकाशित गरी यही असोज ६ गतेदेखि सुरु आईपीएस सम्मेलनमा प्रधानसेनापति शर्माले जनाएको सहभागिताबारे सरकारलाई आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।


अमेरिकी सरकारको नेतृत्वमा गठन भएको आईपीएस आक्रामक सैन्य गठबन्धन रहेको उल्लेख गर्दै उनले नेपाली जनताको जब्बर मत नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागि बन्नु हुँदैन भन्ने रहेको जनाएका छन् ।

सबै राजनीतिक पार्टी र नेपाल सरकारले पनि बेलाबेला आईपीएसमा सहभागि बन्न नसक्ने धारणा सार्वजनिक गर्दै आएको अवस्थामा प्रधानसेनापति शर्माको सहभागिताले चिन्तित तुल्याएको विप्लवको भनाइ छ ।

आईपीएस सम्मेलनमा नेपाल सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको सन्देश जाने उल्लेख गर्दै उनले यसले नेपाली जनताको चाहना र नेपालको भूराजनीतिक संवेदनशीलतालाई बोध गर्न नसकेको उल्लेख गरेका छन् ।