अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित



ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले राम्रो मूल्य पाउँदा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजारसम्ममा कारोबार भइरहेको छ ।


भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५५ देखि ५६ हजारसम्ममा कारोबार भइरहेको बताए ।

रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ देखि २७ हजारमात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले कारोबार भइरहेको अलैँचीको मूल्य धेरै राम्रो भएको बताए ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजारमा कारोबार भएको उनको भनाइ छ ।

उनले दुई–चार हजार मूल्यमा तलमाथि हुने गरेको भए पनि अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी भएकाले आकर्षक मूल्यका रूपमा लिँदै आएको बताए ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुनेछ ।

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भर रहेको हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

यता यस वर्ष अलैँची उत्पादनमा भने निकै गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् ।

फूल खेल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा ह्रास आउने किसानको भनाइ छ ।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिरोले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताए ।

स्थानीय किसानले दाबी गरेअनुसार आधा नभई यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने व्यवसायीले अनुमान लगाएका छन् । सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादनमा घट्ने व्यवसायी बताउँछन् ।

अलैँचीखेती भने ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ ।