अज्ञात समूहले लुटपाट मच्चाएपछि भगरा गाउँवासीले मागे सुरक्षा



राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् ।

भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०र१२ जनाको समूहले धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए ।


उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, रु दुई लाख ५० हजार नगद र दुई थान खसी लुटेर लगेको पीडित परिवारले बताएका छन् । राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरु सजिलै भागेको पीडित धनबहादुरले बताए ।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित वेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारूले बताए । २०र३० वर्ष उमेर समूहका लुटेराहरुले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाको जानकारी पाउनासाथ घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । तीनजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।