स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छ : मन्त्री भण्डारी



काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताएका छन् ।

आज काठमाडौँमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उहाँले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।


मन्त्री भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने बताए ।

सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पुर्याउन बहुआयामिक विषय जोडिने भएकाले  ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उनले यो सम्मेलनले एउटा दिशानिर्देश गर्ने बताए ।

मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उल्लेख गरे ।

उनले चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको छ भने ।