काठमाडौँ । अक्टोबर ५ देखि सुरु हुने आईसीसी एकदिवसीय विश्वकप २०२३ को लागि पुरस्कार राशि घोषणा गरिएको छ ।
विश्वकप २०२३ को विजेता टोलीले ४ मिलियन अर्थात ४० लाख डलर अमेरिकी डलर पाउने आइसीसीले घोषणा गरेको हो । विश्वकपको उपविजेताले पनि २ मिलियन अर्थात २० लाख डलर पुरस्कार पाउने भएको छ ।
यति मात्र होइन, विश्वकपको सेमिफाइनल पुग्ने टोलीमाथि पनि पैसाको वर्षा हुनेछ । सेमिफाइनलमा पुगेर पराजित हुने दुई देशले ८-८ लाख डलर रकम पाउने छन् । त्यसैगरी समुह चरणबाट बाहिरिने हरेक देश (कुल ६ देश) ले एक एक लाख डलर रकम आइसीसीले दिने बताएको छ ।
त्यस्तै समुह चरणमा हरेक खेल जित्ने देशलाई ४० हजार डलर रकम आइसीसीले दिने भएको छ । समुह चरणमा कुल ४५ खेल हुदैछन् ।
आइसीसीले यस विश्वकपमा कुल पुरस्कार राशि १० मिलियन अर्थात एक करोड डलर राखेको छ ।
यस विश्वकपमा कुल १० देशले भाग लिदै छन् । जसमा आयोजक भारतसहित अस्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका, अफगानिस्तान, बंगलादेश, इङल्याण्ड, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड र न्युजिल्याण्डबीच अक्टोबर ५ मा भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।