जनकपुरधाम । तराई मधेशमा क्षेत्रमा आज चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ। छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्व व्रतालु दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ।व्रतालु साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गर्ने गरिन्छ ।
आज सूर्यास्तपछि गाईको गोबरले लिपेर आँगनमा चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गर्ने परम्परा चौठचन्द्र पर्वमा रहेको छ ।
माटोको नयाँ भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी(देवतालाई चढाइन्छ ।आजको दिन लोकपर्व चौठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ ।
यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए। उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिषी समेत थिए । चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले मिथिलाञ्चलसहित मधेशमा घर–घरमा यो पर्व मनाउन थालियो ।
चौठचन्द्र पर्व जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन्।
पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको छ ।