बिपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ…



चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

“घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।


विसं २००६ मा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, “अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन् ।

“घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो”, गौरीदेवीले भनिन्। छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी सुतेको खाट अझै देख्न सकिन्छ । रातो रङको यो घर विसं २०२६ मा निर्माण भएको हो ।

घरको पहिलो तलामा आराम गरिरहेकी प्रधानले भनिन्, “विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको बताइन् ।

विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्याे । कहिले के हुन्छ थाहा हुँदैनथ्यो । त्यो बेला सम्झँदै उनले भनिन्, “यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना पनि बनाउनुहुन्थ्यो ।” विपी कतिपटक घरमा आउनुभयो उनलाई यकिन सम्झना छैन । उनले भनिन्, “कति आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा यही बस्नुहुन्थ्यो ।” सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिन्थे ।

सादा खाना विपी बाबुले खाने गरेको प्रधान बताउँछिन् । उनले भनिन्, “माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “विपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।” विपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन् । साँझ विपी भन्नुहुन्थ्यो, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” विपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने विपीको स्वभाव थियो ।

प्रधानले भनिन्, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” विपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् । उनले भनिन्, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।”

विपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उनले भनिन्, “कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।” साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, “विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो ?”

ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनको अहिले पनि ताजै छ ।

गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि विपीको स्मरण ताजा छ । विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डओभर गाडीमा विपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छन् । गाडी पछिपछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्याे ।

बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, “विपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाइ सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।” आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ । उनले भने, “म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।” सबैले विपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, “सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।”