काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको आजेखि चीन भ्रमण सुरु भएको छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि शनिबार चीन पुगेका हुन् ।
शनिबार बिहान हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ विमानस्थल पुगेका थिए । अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङ्जाओ पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आजै भेटवार्ता हुँदैछ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।
आज मध्याह्न संक्षिप्त भेटपश्चात प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङले एउटै रिसोर्टमा लञ्च गर्नेछन् । त्यसपछि अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने बताइएको छ । त्यसपछि बेलुका ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन्।
प्रधानमन्त्री प्रचण्ड आइतबार बेइजिङ जानेछन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन् । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ ।