काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने विषय संसद्लाई जानकारी गराएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालले यस वर्ष ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर यी देशका साझा समस्या र चुनौतीको विषयमा विश्वसको ध्यानाकर्षण गर्ने बताए ।
उनले आफू दिगो विकास, जलवायु परिर्वतन र स्वास्थ्य चुनौती लक्ष्य हासिल गर्न वित्तीय प्रवर्द्धनका विषयहरू गहन रूपमा छलफलमा साइड लाइनमा हुने बैठकमा सहभागी हुने उनले जिकिर गरे ।
उनले भने- ‘नेपालको राजनीतिक उपलब्धि अवगत गराउने शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेको चुनौतीमा विश्वको ध्यानाकर्षण गर्ने, जलवायु परिवर्तनबाट नेपाल जस्तो देशमा परेको गहिरो र दुरगामी देशमा परेको समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गराउनेलगायत कार्यक्रम रहेको छ ।’
प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जादै छन् । उनले संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा अमेरिकाबाटै चीन भ्रमणमा जाने समेत जानकारी दिएका छन् ।