पहिराले जयपृथ्वी र महाकाली राजमार्ग पुनः अवरुद्ध



बैतडी । अविरल वर्षापछि पहिराका कारण महाकाली र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जयपृथ्वीअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुङ्गा र पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । 

सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले भने, “सडक माथिबाट ठूलो ढुङ्गा खसेको छ, जेसिबीको सहायताले ढुङ्गाको केही भाग फुटालेर सानो गाडी आवतजवात भइरहेको भए पनि पूर्णरूपमा खुल्न सकेको छैन । अर्को जेसिबी पनि पठाएका छौँ ।”


यस्तै पहिरो खस्दा महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ खम्तोलामा दिउँसो ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरूपमा बन्द भएको र यात्रु बीचबाटोमै अलपत्र परेका छन् । राजमार्ग सुचारु गर्न जेसिबी पठाइएको छ । 

यसअघि आजै बिहान धरमघर नजिकै पहिरो खस्दा महाकाली राजमार्ग पनि अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण धरमघरमा पनि पहिरो आउने क्रम रोकिएको छैन तर जेसिबी राखिएकाले पहिरो खस्ने बितिक्कै पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।