नेपालको ‘चुच्चे नक्सा’मा समर्थन जनाउन चिनियाँ कम्युनिष्ट पार्टीलाई एमाले महासचिवको आग्रह



बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार भेटवार्ता भएको छ ।

सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्सा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गरेका छन् ।


महासचिव पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गरे । सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने बताए ।

उनले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने बताए । महासचिव पोखरेलले भने, ‘१८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौं । नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ ।’

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा नेकपा एमालेलाई धन्यवाद दिए । उनले भने, नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइँमा लैजान चाहन्छौं । चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन् । हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ । नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेको हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ ।’

महासचिव पोखरेल नेतृत्वको भ्रमण दल सोमबार छिन्हाई शहर जानेछ । त्यहाँ आयोजित कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव पोखरेल आइतबार तियानमेन स्क्यायर जानुभई चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता अध्यक्ष माओत्सेतुङप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए ।