भक्तपुर । दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जंगलमा टाउको छिनेको अवस्थामा शनिबार शव फेला छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
दुई महिना अगाडि हराएकी महिलाकी शवको कंगाल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’ उनले भने ।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।