काठमाडौँ । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएकामा उनलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो ।
मूल समारोह समितिले मंगलबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा समाजसेवी डा दासलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दनपत्रद्वारा सम्मान गरे । उनलाई गत भदौ ३० गते नागरिक समाजको तर्फबाट दिव्य शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिकातर्फबाट उहाँलाई अभिनन्दन गरिएको हो । वरिष्ठ चिकित्सक डा दासलाई नागरिकस्तरबाट विभिन्न निकाय र सङ्घसंस्थाकाका तर्फबाट पनि दोसल्ला र प्रसंशापत्रसहित अभिनन्दन गरिएको थियो ।
त्यस्तै पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालगायतले उनलाई माल्यार्पण गरी अभिनन्दन गरे ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा सेवा, मानव अधिकार, व्यवस्थापन, समाजसेवा र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान गरेका शिखर व्यक्तित्व डा दासको बहुआयामिक व्यक्तित्व र अमूल्य कार्यप्रति सबैले उच्च सम्मान र गौरव गर्नुपर्ने बताए ।
सिरहाको इनरवामा विसं १९८१ मा बुबा जनार्दन लाल दास र आमा स्व भवानी देवीको कोखबाट जन्मनुभएका डा दासले वीर अस्पतालबाट चिकित्सा सेवा आरम्भ गरी सात दशकदेखि विभिन्न निकाय र क्षेत्रमा योगदान दिइरहेका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय हुन् ।
भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा दासले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको हो ।
उनले राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालयलगायतमा सरकारी सेवा गरेका थिए । विभिन्न प्रतिष्ठित संस्थामा सामाजिक कार्यगरी धेरै सङ्ख्यामा पुरस्कार र सम्मान पाएका छन् ।