काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् । चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले इन्टर पास भइसकेपछि बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताए ।
‘नेपालमा शिक्षाको गुणस्तर कमजोर छ । यहाँ पढ्नु हुँदैन भन्ने गलत भाष्यको विकास गरिँदै छ । हाम्रासामु पुरानो इतिहास पनि छँदैछ । अहिले राम्रो हुँदैछ । राम्रो भएको छ । हामीले राम्रो गर्नुपर्छ । राम्रो गर्न सम्भव छ । हामी त्यो गरिरहेका छौं,’ उनले भने । उनले छात्रवृति पाउँदा मात्र उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने धारणा राखे ।
नेपालमा अवसर नभएको भन्दै यहाँ राम्रो काम गरिरहेकाहरू बाहिर गएको र त्यहाँ सामान्य काम गरिरहेको बताउँदै उनले नेपालका सम्भावनालाई छोडेर बाहिर जान नहुने बताए ।
उनले देशको दक्ष जनशक्ति मुलुकमै बस्नुपर्ने बताएका छन् । सबै मिलेर इमान्दार भएर काम गर्दा मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्न सकिने उनले बताए । यसका साथै मुलुकको अर्थतन्त्र सुशारका लागि सरकार लागि परेको उनले बताए । मुलुकमा सुशासन, दिगो विकास र समृद्धि कायम गर्न सरकारले काम गरिरहेको मन्त्री महतले बताए ।
‘विकसित मुलुक एकै पटक विकसित भएका होइनन् । नतिजा आउन समय लाग्छ । अहिले हामीले इमान्दारिताका साथ काम गरिरहेका छौं, नेपालमा विकास सम्भव छ’, उनले भने । कोरोना महामारीलगायत विभिन्न कारणले नेपालमात्र नभएर विश्वकै अर्थतन्त्र अप्ठ्यारो परिरहेको समयमा तत्कालको कुरामातत्र नहेरेर आउँदो पिडिसम्मलाई फाइदा पुग्ने कुरामा सरकार केन्द्रित रहेको उनले बताए ।