झरना थापा भन्छिन्-मर्नु न बाच्नुको पीडा भइरहेको छ



काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छन् । मध्यरातमा सामाजिक सञ्जालमार्फत उनले यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’ विवादमा आएपछि यस्तो पीडा भइरहेको बताएकी हुन् ।

सारा स्रोत सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा यस्तो पीडा भइरहेको थापाको भनाई छ ।चलचित्र विकास बोर्डले यो चलचित्र ‘एक भगवत गीता’को सेन्सर सिफारिस रोकिरहेको छ । बोर्डले सेन्सर सिफारिस रोकिदिएपछि निर्देशक थापाले सत्य बोल्दा पनि कसैले नसुनदा अब अन्तिम फैसला भगवानले गर्नु होला नि हैन ? भन्दै प्रश्न गरेकी छन् ।


‘सत्य बोलिरहँदा पनि, सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिए पछि अन्तिममा फैसला त भगवान् ले गर्नु होला नि हैन ?’, थापाले लेखेका छन् । साथै थापाले जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रलाई दिएको र प्रिय दर्शकहरुको मायाले आफु पर्दामा छाइरहेको समेत उल्लेख गरेका छन् ।