काठमाडौं । संसदीय समितिले चिनी, चामल, गहुँलगायतका आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन निर्देशन दिएको हो ।
त्यस्तै, बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यमा गर्न पनि सरकारलाई सचेत गराएको समितिका सभापति अब्दुल खानले बताए । समितिले बजारको मागअनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुनेगरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
समितिले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खानको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने निर्णय गरेको छ । चाडपर्वको बेला उपभोक्तालाई खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न समिति बनाउने निर्णय गरिएको सभापति खानको भनाइ छ ।
बैठकमा समितिका सदस्यहरुले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए ।