काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही आदेश अनुसार सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको हो ।
पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए । प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।
यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ ।