काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ ।
प्रदेशको नेतृत्व चयनको लागि उम्मेदवारी दर्ता भएसके पनि नेताहरूको विवादका कारण मतदानको समय सरेको सर्यै भएको छ । उम्मेदवारी दर्ता बुधबार नै सकिए पनि उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक गरिएको छैन ।
निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेबाटै मतदान सुरु हुने भनिएको थियो । तर, नेताहरूको विवादका कारण भोलि (शुक्रबार) बिहानसम्मको लागि मतदान सरेको छ ।
यसअघि बिहान ११ बजे, दिउँसो १ बजे, दिउँसो ४ बजे र साँझ ६ बजेबाट मतदान सुरु गर्ने भनिएपनि सर्दै आएको छ । साँझ ६ बजेसम्म पनि नेताहरूबीच कुरा नमिल्दा भोलि (शुक्रबार)सम्मको लागि मतदान सरेको हो ।
भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिए । विवादका कारण मतदान सरेपछि नेताहरुले भने सर्वसम्मत गराउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।
अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ उम्मेदवार छन् । हालका प्रदेश अध्यक्ष केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, राजेन्द्र राजथला, सुभाषचन्द्र ठाकुर रहेका छन् ।
सचिवमा रामकुमार अधिकारी, नवराज सिलवाल, रत्न गुरुङ, हस्तबहादुर पण्डितले उम्मेदवारी दिएका छन् । २ जना उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, गंगादेवी श्रेष्ठ, टासी लामाको उम्मेदवारी परेको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा उद्घाटन गरेको अधिवेशनको मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सम्पन्न भएको थियो । मंगलबार नै निर्वाचन कार्यक्रम सक्ने जनाएको एमालेले सहमतिका लागि भन्दै तेस्रो पटक निर्वाचन तालिका परिमार्जन गरेको छ ।
यसअघि भदौको तेस्रो साता लुम्बिनीमा भएको अधिवेशनमा सर्वसम्मत गर्न केन्द्रले निर्देशन दिए पनि मतदानबाट नेतृत्व छनोट भएको थियो ।