आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ वर्ष जेल सजाय



लमजुङ। आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाका-९ का प्रकास थापालाई लमजुङ जिल्ला अदालतले १२ वर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ।

तिनै बालिकालाई बलात्कार गरेकाे भनि परेकाे अर्काे मुद्दामा साेही ठाउँका अर्जुन विक्रम थापालाइ पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेकाे छ। छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएकाे छ।


२०७७ माघमा भएकाे बलत्कारकाे घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाकाे वडा नंं ९ मा रहेकाे भैरब माविका शिक्षक प्रकाश थापालाइ पहिलाेपटक पक्राउ गरेकाे थियाे।

पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकाेमा दबाबमा बालिकाले आराेप झुटाे रहेकाे बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे।

उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए।

विद्यालयका अध्यक्ष नै शिक्षककाे विराेधमा उत्रे पछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ कारबाही गर्नुपर्ने भन्दै विद्यालयकाे पठनपाठन नै अवरूद्ध गरेर आन्दाेलनमा उत्रिएका थिए। उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आराेप प्रत्याराेपकाे अनाैठाे सिलसिला नै चलेकाे थियाे।

पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएकाे ठहर गरी बाल अधिकारकर्मीहरूकाे सहयाेगमा मनाेविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदाै १ मा ती बालिकाले प्रकाश थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्।

साे क्रममा ती बालिकाले आफूलाइ राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेकाे भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाइ पक्राउ गरेकाे थियाे।

शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए। विद्यालयका शिक्षकहरूकाे कासमु बुझाउन काठमाडाैं गएकाे बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेकाे १४ दिनपछि पक्राउ परेका थिए।

प्रहरीले पीडित बालिकाकाे किटानी जाहेरीका आधारमा दुवै आराेपी बिरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेकाे थियाे । लमजुङ जिल्ला अदालतकाे फैसलापछि दुवै जना कारागार चलान भएका छन्।