हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्  । 

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताए ।


सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उनको भनाइ छ । 

उपप्रधानमन्त्री श्रेष्ठले समृद्धि हासिल गर्न हिजोकै कार्यपद्धति, कार्यशैली, संस्कृति र गतिमा काम गरेर नहुनेमा जोड दिँदै उनले कार्यशैली परिवर्तन गर्नुपर्ने बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले समृद्धिका लागि सरकारले सुशासनलाई पूर्वसर्त बनाएको बताए ।

“समृद्धि पर्याप्त भएन, अब क्रमभङ्ग गर्नुपर्छ, गुणात्मक फड्को मार्नुपर्छ”, उनले भने । मुलुकको अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा ल्याएर मात्रै समृद्धिमा फड्को मार्न सकिनेमा सरकार दृढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारसँगै समृद्धिको गति बढ्ने बताए ।

सुशासन कायम गर्न सरकार दृढताका साथ अगाडि बढेको बताउँदै उनले भ्रष्टाचार, ठगी, दण्डहीनता, आपराधीकरणविरुद्धको अभियानले विश्राम नपाउने जिकिर गरे । “निर्दोष नफसुन्, स्वतन्त्रतापूर्वक जीवनयापन गर्न सक्ने, अपराधी, भ्रष्टाचारी, तस्करीले छुट नपाओस् भन्ने गरी सरकारले काम अगाडि बढाएको छ”, उनले भने । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वार्षिकरूपमा तोकिएका कामका अतिरिक्त मन्त्रालयले सम्पादन गरेको अन्य कामबाट जनतामा आशा जागेको बताए ।

स्रोतको अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या आएका विषयलाई गम्भीररूपमा लिँदै उनले राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार भएपछि बजेटको व्यवस्था गर्न सकिने बताए । 

“स्रोत सङ्कुचनका कारण यो वर्ष सिलिङ बढाउन सकिएन, चालु आवको दोस्रो छ महिनामा राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार हुने देखिन्छ, मन्त्रालयले तोकेका काम सकेर सुरक्षा निकायको सुदृढीकरणको योजना ल्याउन सके बजेट थप गर्न सकिन्छ”, उनले भने । 

आयोगका सहसचिव प्रकाश दाहालले समग्रमा मन्त्रालयको प्रगति राम्रो रहेको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन प्रवर्द्धन गर्न मन्त्रालयले चालेका कदम स्वागतयोग्य भएको बताए ।

संवेदनशील मानिएका कार्यालयको पूँजीगत खर्च कम हुन निराशालाग्दो भएको उनको भनाइ छ । मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजेटका अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या देखिएको बताए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विभिन्न विभाग तथा कार्यलयका प्रमुख, प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले वार्षिक प्रगति विवरण प्रस्तुत गरे ।