लालबहादुर बिकले पाए सफाइ



विराटनगर । सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् । मंगलबार उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजनालाई सफाइ दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।


अदालतले कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।

सुनसरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ३ करोड करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिवाना र तीन वर्ष जेल सजाय सुनाएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।

उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा मंगलबार फैसला भएको हो । लालबहादुर २०७३ सालमा इटहरी उपमहानगरपालिका– २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्न गएका थिए । त्यसबेला उनको तलब २१ हजार रुपैयाँ थियो । मालिकको आदेश सोझो तामेल गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।