इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्रिय स्वाधीनताको ७६ औँ वर्षगाँठको अवसरमा सोमबार देशवासीलाई बधाई दिँदै देशले सामना गरिरहेका चुनौतीको सामना गर्न राष्ट्रिय एकता र आत्मविश्वासका लागि आह्वान गरेका छन् ।
आफ्नो सन्देशमा सरिफले भनेका छन्, “पाकिस्तानका जनताले स्वतन्त्रताका लागि भएको सङ्घर्षमा जस्तै दृढसङ्कल्प जगाउनुपर्छ र एकता र आत्मविश्वासको सिद्धान्तलाई प्रयोग गरेर अगाडिको मार्ग प्रशस्त गर्नुपर्छ ।”
“विगत साढे सात दशकमा प्रायः विरोधी परिस्थितिहरूविरुद्ध हामीले हासिल गरेका थुप्रै उपलब्धिहरूको महत्वलाई नकार्न सकिँदैन । हामीले सबैभन्दा खराब प्राकृतिक प्रकोप, द्वन्द्व र युद्धको सामना गरेका छौं र सँधै राम्रो निर्माण गर्न सफल भएका छौं,” उनले भने ।
स्वतन्त्रताको भावनाले पाकिस्तानीहरूलाई चुनौतीहरू पार गर्न र सबैका लागि न्याय, समानता र समृद्धिको सिद्धान्तलाई मूर्त रूप दिने राष्ट्रको दिशामा काम गर्न प्रेरित गरिरहेको छ ।
स्वतन्त्रता दिवसको दिन पाकिस्तानीहरूले देशका संस्थापक मोहम्मद अली जिन्ना र उनलाई स्वतन्त्रताको लडाईमा साथ दिने सबै ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।