म्यान्मारमा पहिरोमा परी २५ जनाको मृत्यु, १४ जना बेपत्ता



यांगुन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् । 

आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र बाढीका कारण आइतवार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो।


मंगलबार बेलुकासम्म उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए । उनले १४ जना अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि बुधबार पनि उद्धार कार्य जारी रहने बताए ।

उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए । 

उत्खननका क्रममा भारी वर्षाका कारण करिब १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको थुप्रो भत्किएको उद्धारकर्मीहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार वर्षायामका कारण खानी सञ्चालनमा रोक लगाइएको भए पनि बहुमूल्य सामग्री भेटिने आशमा स्थानीय बासिन्दा हिलोमा जम्मा भएकाले पहिरो खसेको अनुमान गरिएको छ ।