मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्नेछ : अर्थमन्त्री महत



काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संजाल (आयोन) ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री महतले कोरोना, अन्तर्राष्ट्रिय परिस्थिति लगायतका कारण आर्थिक क्षेत्रमा देखिएको समस्या अस्थायी भएको बताए । उनले अब मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने दाबी गरे ।


उनले मुलुक विकासको बाटोतर्फ अघि बढेको र यहीँ पर्याप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गरे । लामो समय विदेशमा बसेर फर्केकाहरुले पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा नै व्यवसाय गरिरहेको उनको भनाइ छ ।

मन्त्री महतले बजेटको न्यूनताका बाबजुत युवा उद्यमशीलता र सूचना प्रविधि क्षेत्रमा ठूलो रकम छुट्याएको जानकारी दिए ।

त्यस्तै, मन्त्री महतले अहिले मुलुकमा विदेशी लगानी र सहयोग लिनका लागी प्राथमिकता निर्धारण गर्ने र आन्तरिक स्रोतलाई बलियो बनाउने गरी अर्थमन्त्रालयले काम गरिरहेको बताए ।