नेपालगञ्ज उपमहानगरले आवास जोखिम बीमा लागू गर्ने



बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नम्बर ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो ।

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागेको हो ।बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नम्बर ३ र ७ मा बढी भएको हुँदा सुरुआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।


उनले भने, ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुआती चरणमा ३ र ७ लाई लिएका छौँ, बीमा शुल्कबापत नगरले १५ लाखसम्मको रकम उपलब्ध गराउनेछ ।’

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।