काठमाडौँ । दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म राजनीतिक विषयमा केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
चुनावी मैदानमा उत्रिएका पासाङ तामाङ (दयाहाङ राई) र जरी लामा (शिशिर वाङ्देल) बीच चुनावमा हार्ने व्यक्तिले सर्वाङ्ग नाङ्गो भएर घर जानुपर्ने सर्त लगाइएको छ । र फिल्ममा दुवै चुनाव जित्ने रणनीति बनाएको देखाइएको छ ।
फिल्ममा दयाहाङ राईको जोडी मिरुना मगरसँग बाँधिएको छ । साम्राज्ञी आरएल शाहले शिशिरको छोरीको भूमिका निभाएकी छिन् । उनको प्रेमीको भूमिकामा कार्म शाक्य छन् ।
वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ आदिको पनि अभिनय रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ । निर्देशक लामा स्वयंको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।
फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।