जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छुः प्रधानमन्त्री



सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको सुशासन अभियानले प्रतिक्रियावादी तत्वलाई खपिनसक्नु भएको बताएका छन् ।

बिहीबार समाजवादी मोर्चाको सन्देश सभालाई सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले थालेका काम ऐतिहासिक भएकाले प्रतिक्रियावादीलाई त्यो सह्य नभएको बताएका हुन् ।


उनले आफूलाई सरकार छाड्न कुनै समस्या नभएको बताए । उनले भने, ‘यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्यो र उस्तो गर्यो भन्छन् त्यो वाहियात हो, । राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा नेपाली कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको जिकिर गरे । माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए नछोड्न भनेको उनले बताए ।

सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने र पक्षपात नहुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीले नेकपा एमालेभित्र असन्तुष्टि चुलिएको र विस्फोट हुने खतरा रहेको बताए ।

उनले भने, ‘अहिले म नाम लिएर धेरै भन्दिनँ। आफूलाई निकै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ। नेता र कार्यकर्ताको विशाल पंक्ति हैरान, परेशान भएर कहीँ न कहीँ विस्फोट हुने स्थितिमा पुगेको छ । मलाई लाग्छ त्यहाँबाट फेरि कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुन्छ भन्ने मेरो विश्वास छ।’

प्रधानमन्त्रीले अब भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन जनता सडकमा उतारिने पनि बताए । उनले भने, ‘वर्षा सकिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रिय जनजिविका, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याइ सरकारले मात्रै गर्देला र खाउँला भन्यो भने त्यो भूल हो।’