चौतर्फी दबाबपछि सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई



काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्वीन्टल सुन तस्करीको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)लाई दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग यसबारे छलफल गरेका हुन् ।


छलफलमा महान्यायाधिवक्ता पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो ।

यस प्रकरणमा हालसम्म चिनियाँ, नेपाली र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका छन् । जसमध्ये बिहीबारमात्रै भन्सार एजेन्ट रूक्मिनी सुब्बा हाजिर जमानीमा छुटेकी छन् । यस विषयमा अहिले राजश्व अनुसन्धान विभागले गरिरहेको छ । विभागले सुन तस्करी गिरोहको सोह्रखुट्टे, बालुवाटार, लाजिम्पाट र टोखास्थित गोदाममा पनि छापा मारेको छ । त्यहाँबाट चार वटा सुन गाल्ने उपकरणसमेत बरामद भएको छ ।