गौरा पर्व आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।


शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका हुन् ।

‘यस पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन् । साथै यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराका सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको देखिन्छ’, जारी सन्देशमा भनिएको छ ।

उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको समेत बताएका छन् ।

गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने उनको विश्वास छ ।