काठमाडौं । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज बिहीबार नै सुनुवाइ हुँदैछ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजै सुनुवाइ हुन लागेको हो ।
सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै कार्कीले परमादेशको मागसहित बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री थापाले संविधान विपरीत सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालत पुगेको हो ।
कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएका छन् ।
रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको माग गरिएको छ ।
यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री भएका थिए । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिएपछि एमाले फेरि पनि सर्वाेच्च पुगेको हो ।