काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा सङ्गठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयीक विषयहरु लिखित रुपमा पेश गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समिक्षा हुनुपर्ने खनालको भनाइ छ ।
‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’
उनले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीहरुलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गरे । स्थायी कमिटी बैठकमा भाद्रमा हुने केन्द्रीय कमिटीमा पेश हुने बिभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदन लगाएतका बिषयमा सुझाव लिइएको नेकपा (एकीकृत समाजवादी)का नेता गंगालाल तुलाधरले जानकारी दिए ।
एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको र महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजहरुलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने उनले बताए । तुलाधरले सचिवालय, स्थायी कमिटी र पोलिट्व्युरो बैठकमा धारणा राख्नेहरुले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केहि लामो भएको तुलाधरले जानकारी दिए ।
तुलाधरले माघको दोश्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यसअवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पुरा गर्ने गरि अघि बढेको उल्लेख गरे । उनले सदनलाई सहज रुपमा अघि बढाउने र प्रभावकारी बनाउनका लागि पार्टीको भूमिकाका बारेमा पनि बैठकमा कुराकारी भएको जानकारी दिए ।