अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज; केरा, स्याउ, उखु, खर्बुजा र चनाको खुराक



चितवन । चितवनको सौराहामा ११औं विश्व हात्ती दिवसको आयोजना गरेर हात्तीलाई वनभोज खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा वनभोज खुवाइएको हो ।

सधैँजसो पिठ्यूँमा पर्यटक बोकेर सफारीमा प्रयोग हुने हात्तीहरुलाई दिवसको दिन कुनै काममा नलगाई वनभोज खुवाइएको हो । विगतको तुलानामा यहाँ हात्तीको शङख्या घट्नुले हात्तीबिनाको पर्यटनलाई असर पर्ने ब्यवसायीको भनाइ छ ।


सौराहामा निजी स्तरमा सञ्चालित, सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई पोष्टिक आहारको रुपमा केरा, स्याउ, उखु, खर्बुजा, चना, भेली, गाँजर खुवाइएको हो । हात्ती सञ्चालन सहकारी संस्थाल युनाइटेडका अध्यक्ष ऋषि तिवारीले हात्तीको महत्व बुझाउन र संरक्षणमा प्ररित गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

विश्वबाट हात्ती लोप हुने क्रममा रहेको भन्दै उनले यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताए । ‘सौराहाको पर्यटन हात्तीमा निर्भर छ’, उनले भने, ‘मुलुकको अर्थतन्त्रसँग जोडिएको पर्यटन क्षेत्रको विकासका लागि पनि हात्ती रहनुपर्ने कार्यक्रममा सहभागीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बासस्थान खण्डीकरण मुख्य चुनौती रहेको भन्दै हात्ती बस्ने स्थान बिनासले द्धवन्द बढेर संरक्षणमा मुख्य चुनौती रहेको बताए । नेपालमा जंगली तथा घरपालुवा गरी झण्डै ५ सय हात्ती रहेको तथ्याङ्क छ ।

सन २०१२देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको भएपनि नेपालमा भने यस्ता किसिमका दिवस मनाउन सुरु गरिएको धेरै भएको छैन ।