काठमाडौँ । नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ ।
धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती ब्यहोर्नु परेको छ ।
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा कल्पना उपाध्याय सुवेदीले आमाहरूले घरमा शिशुलाई स्तनपान गराए पनि कार्यालय समयमा स्तनपान गराउन नपाएकाले छ महिनासम्म स्तनपान गर्ने शिशुको सङ्ख्या घट्दै गएको बताए ।
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरुपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको छ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी १० प्रतिशतमा कमी आएको छ ।
‘आमाहरूले घरमा हुँदा शिशुलाई आफ्नो दूध खुवाउनुहुन्छ, तर काममा फर्किसकेपछि कार्यस्थलको वातावरण स्तनपानमैत्री नभएकाले आमाहरुले शिशुलाई अन्य दूध खुवाउन बाध्य हुनुहुन्छ’, उनले भने , ‘त्यसैले पहिलेभन्दा कम शिशुले स्तनपान गर्न नपाएका हुन् ।’
कामकाजी महिलाले पनि सुत्केरीपछि काममा फर्केपछि पनि छ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने प्रमुख बालरोग विशेषज्ञ डा सुवेदीको भनाइ छ । आमाहरूले घरमा हुँदा आफ्नो दूध खुवाउने, स्तनपान गराउने र काममा जाने बेलामा आफ्नो स्तनबाट दूध दुहेर सफा भाँडोमा राखेर शिशुलाई दिउँसो खुवाउनका लागि छाडनुपर्ने उनी बताउँछन्।
उनका अनुसार यदि आमाको घरमा फ्रिज छ भने दुहेको दूधलाई २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ । यही फ्रिज छैन भने पनि कोठाकै तापक्रममा छदेखि आठ घण्टा सुरक्षित दूध रहन सक्छ । उनले कार्यस्थल पनि स्तनपानमैत्री हुन जरुरी रहेको बताए । कार्यालय समयमा बीचबीचमा स्तनपान गराउन केही समयका लागि बिदा लिन सकिने उनको भनाइ छ ।
कार्यालयमा स्तनपान कक्षको व्यवस्था हुन पनि आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार स्तनपान कक्षमा हात धुने ठाउँ, स्तन निचोरेर दूध राख्ने व्यवस्था, फ्रिजको व्यवस्था भयो भने आमाले आफ्नो दूध निचोरेर पटकपटक घण्टाको फरकमा दूध खुवाउन सक्छन् ।
परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले धेरै महिला आर्थिक गतिविधिमा संलग्न भएकाले काममा जानुपर्ने भएको र स्तनपान मैत्री कार्यस्थल नभएकाले शिशुलाई स्तनपान गराउन नपाएको बताए।
उनले कार्यस्थलमा आमाले स्तनपान गराउन नपाएकाले बाध्य भएर अरु वस्तुहरू खुवाउन परेको बताए । ‘शिशुलाई अरु कुरा खुवाउँदा शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर पर्दछ’, उनले भने, ‘समग्र आर्थिक तथा सामाजिक विकासमा पनि यसको नराम्रो र प्रतिकूल असर पार्दछ ।’
उनले शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले कामकाजी आमालाई कार्यस्थलमा नै स्तनपान गराउने उपयुक्त वातावरण रोजगारदाताले बनाउनुपर्नेमा जोड दिए । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा सबै रोजगारदाताले नवजात शिशुका आमालाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउने व्यवस्था उल्लेख गरिएको छ । उनले कार्यस्थललाई स्तनपानमैत्री बनाउन आवश्यक रहेको बताए ।
नेपालसहित विश्वभरि नै यही साउन १६ देखि २२ गतेसम्म ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ‘विश्व स्तनपान सप्ताह’ मनाइँदै छ । स्तनपानबाट बच्चालाई कुपोषण, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउँछ भने आमालाई रक्तश्राव कम, डिप्रेसन, तथा डिम्बासय र स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने गर्दछ ।