साहित्यकार तुल्सी थापाको निधन



बागमती । मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उहाँका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए ।

मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएका थिए ।


दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गर्नुभएका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआतसमेत गरेका थिए ।

गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत थिए । स्व .थापाको बेलायतमा रहेकी छोरी आज साँझ आएपछि दाहसंस्कार गरिनेछ ।