गण्डकी । पोखरा महानगरपालिका–१९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक स्रोत उपयोगको अधिकारसँगै समृद्धिको अभियानमा जुटेको हो ।
घरसँगै जोडिएको वन पैदावार उपयोगबाट बञ्चित हुँदा जीविकोपार्जनमा विगतदेखि समस्या झेल्दै आए पनि उपभोक्ताको अथक सङ्घर्षले अधिकार प्राप्त गर्न सफल भएको समूहका पूर्वअध्यक्ष मुक्तिबहादुर सुनारले सुनाए।
उनका अनुसार सिङ्गो दलितबस्तीको सङ्गठित आवाजले सार्थकता पाउँदा प्राकृतिक स्रोत संरक्षण, प्रबद्र्धन र उपयोगको अधिकार प्राप्त भएको हो । वन समूह भूमि पुज्ने कृषि सहकारी संस्थाको माध्यमबाट समृद्धिको अभियानमा जुटेको उनको भनाइ छ ।
“पहिले ग्यासको सिलिण्डर र विद्युत्को सुविधा थिएन, वन पैदावार जस्ता प्राकृतिक स्रोतमा दलितको अधिकार निकै कम थियो”, उनले भने, “उपल्लो जातिका समुदायको आँखा छल्दै दाउरा ल्याएर जीविकोपार्जन गर्नुपर्ने दलित बस्तीको बाध्यता थियो ।”
सुनारले अधिकार प्राप्तिको लडाइँमा धेरै पटक पिटाइ खाएको र मुद्दा मामिला बेहोर्दै प्रहरी हिरासतमा समेत बस्नु परेको दुखेसो सुनाए । उनले सामुदायिक वनको अवधारणाले आसपासका बासिन्दालाई संरक्षणको अधिकार दिएपछि २०५१ सालदेखि भने सहजरुपमा वन पैदावारको उपयोग गर्दै गर्न पाएको उनको भनाइ छ ।
“खाना पकाउन र वस्तुभाउलाई कुँडो र घाँससमेतका लागि जङ्गल छिर्न नपाउँदा प्राकृतिक स्रोत उपयोगका क्रममा अन्य समूहसँग झगडा भइरहन्थ्यो”, ७० वर्षीय मनकुमारी सुनारले विगत सम्झिन् ।
पहिले वन पैदावारको उपयोग गर्ने र गर्न नपाउनेका बीचमा पटक–पटक विवाद हुँदा हात हालाहालको अवस्था सिर्जना हुने गरेको उनको भनाइ छ । प्राकृतिक स्रोतका उपयोगका लागि लड्दै गर्दा कपडा च्यात्तिनु सामान्य भएको उनको भनाइ छ । “अहिले सबैको सहयोगले अधिकार प्राप्त भएपछि हामी सबै वनको विकासमा लागेका छौँ”, उनले भनिन्, “उपयोगमा पनि अहिले कुनै बाधा छैन ।”
सामुदायिक वन समूहका अध्यक्ष मनबहादुर सुनाराका अनुसार साढे सात हेक्टरमा पैmलिएको सामुदायिक वनमा हाल ८० घर परिवार आश्रित उपभोक्ता छन् । “पछिल्लो अवस्थामा अन्यत्र कुनैपनि सामुदायिक वन समूहमा उपभोक्ता नभएका तीन घर भुजेल परिवारलाई उपभोक्तामा समावेश गरेका छौँ”, उनले भनिन् । कटुस, चिलाउने, तिदुुलगायतका बोटबिरुवा रहेको उक्त वनमा उपभोक्ता समूहको सक्रियतामा चाँप, डालेघाँस, तेजपात, अलैँची जस्ता आयआर्जनका बिरुवा रोपिएको उनको भनाइ छ ।
कटुसका पातबाट दुनाटपरी बनाइ बिक्री गर्न पाए प्लास्टिकलाई बिस्तापित गर्दै आयआर्जमा समेत टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरिन् । लामो समयदेखि वनको संरक्षण, सम्वद्र्धन गर्दै आएका उपभोक्ताले वनबाट समृद्धि सम्भव छ भन्ने विश्वासका साथ काम गरिरहेको सुनारको भनाइ छ । सर्वसुलभ नीतिको अभावमा वनमा हुर्केका रुख उपयोग र बिक्री वितरण गर्न नसकिएको भन्दै उनले गुनासो गरिन् । पछिल्लो समय सामुदायिक वन समूहको कोषमा १२ लाख सङ्कलन भएको उनले जानकारी दिइन् ।
उनले वनमा आधारित उद्यम सञ्चालन एवम् कृषि उत्पादनसँग जोडिएर थप आयआर्जन गर्ने लक्ष्य लिइएको बताए । सहकारीमा हाल ७० सदस्य छन्। जसले न्यूनतम दुई हजारदेखि ३० हजारसम्म शेयर लगानी गरेका छन् ।
घार्मीलाई बेसारको हव बनाउने लक्ष्यका साथ सहकारीमार्पmत पहिलो पटक तीन रोपनी जग्गामा सामूहिक बेसार खेती सुरु गरिएको बताउँदै उनले थपिन्, “सहकारीले समूहगतरुपमा बाख्रापालन, कुखुरापालन र तरकारी खेतीमा लगानी गर्दै आएको छ ।”
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका निवर्तमान अध्यक्ष एवम् वागमती प्रदेशसभा सदस्य भारती पाठकका अनुसार प्राकृतिक स्रोतमाथि आदिवासी जनजाती र विपन्न वर्गको अधिकार स्थापित गर्ने पहिलो संस्था महासङ्घ भएको दाबी गरिन् ।
“मुलुकलाई काठमा आत्मनिर्भर बनाउने हो भने प्रत्येक वर्ष काठ तथा काठजन्य सामग्री आयातमा हुने गरेको ठूलो रकम बचत हुनुका साथै हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ”, उनले भनिन् ।
अब्राहम कञ्जरभेसन अवार्ड
कास्कीमा दलित समुदायमात्र उपभोक्ता रहेको एकमात्र भूमि पुज्ने तीसढुङ्गे सामुदायिक वन समूहले अब्राहम कञ्जरभेसन अवार्ड प्राप्त प्राप्त गरेको छ । वन, वातावरण तथा वन्यजन्तुको संरक्षण गरेबापत समूहलाई ५० हजार नगदसहित सम्मानपत्रसहित सम्मान गरिएको हो ।
“वनले यति ठूलो पुरस्कार प्राप्त गरेको खबर पाउँदा निकै खुसी लागेको छ”, सुनारले भनिन्, “उपभोक्ताको घरघरमा पुगेर हर्षका आँशु बगाउँदै खुसीयाली साटासाट गरेको आजै हो जस्ता लाग्दछ ।”