काठमाडौं। प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन्।
सुन प्रकरणमा छानबिन समिति बनाउने बिषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन्।
जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान १० बजे बस्नेछ। प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बीच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाइएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरे पछि गत १२ साउनदेखि नै संसद अबरुद्ध हुँदै आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो । त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।