संसदीय समिति सभापतिमा नौं जना निर्बिरोध, उद्योग समितीमा चुनाव हुदै



काठमाडौँ । प्रतिनिधि सभाका विषयगत समितिहरूले सोमबार सभापति पाउने भएका छन् । गत वर्षको पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेपछि २०८० वैशाख १० गते मात्र सभामुखले विषयगत समितिमा रहने सांसदहरूको नाम घोषणा गरेका थिए । 

अब भने प्रतिनिधि सभाका १० मध्ये ९ वटा समितिमा निर्विरोध सभापति चयन भएका छन् । १० वटा विषयगत समितिमध्ये कांग्रेसले ३, एमालेले २, माओवादी, एकीकृत समाजवादी, राप्रपा, जसपा र जनमत पार्टीले १-१ समिति सभापति पाएका छन्। भागबन्डा नपाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग समितिमा उम्मेदवारी दिएपछि यस समितिको भने चुनाव हुने भएको छ ।


उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा सत्ता साझेदार दलहरूको तर्फबाट जनमत पार्टीका अब्दुल खान उम्मेदवार बनेका छन् भने रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनएको छ । अब यस समितिको सभापतिको चुनाव सोमबार हुने भएको छ। यस समितिमा सत्ता साझेदार दलहरू खानको पक्षमा भएकाले उनी निर्वाचित हुने तय मानिएको छ ।

नौं संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित

निर्बिरोध निर्वाचित हुनेमा कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा रहेका छन् ।

त्यस्तै नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह निर्बिरोध निर्वाचित भएका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट राजकिशोर साह अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा, एकीकृत समाजवादीबाट भानुभक्त जोशी शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा निबिरोध निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डाबाट दीपक सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।