संखुवासभा कारागारमा दुई कैदीबन्दीको कुटपिट गरी हत्या



खाँदबारी । जिल्ला कारागार संखुवासभाका दुईजना कैदीबन्दीको मृत्यु भएको छ । १९ वर्षीय विनोद तोलाङ्गी र २८ वर्षीय आकाश वलामीको मृत्यु भएको हो ।

मंगलबार राति १ बजेतिर कारागारको शौचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएकोमा बिहान दुबैजनालाई कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।  कुटपिटबाट उनीहरुको मृत्यु भएको बताइएको छ । कुटपिटमा संलग्न कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


उपचारका क्रममा बुधबार बिहान ६ बजे उनीहरुको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । अहिले शव जिल्ला अस्पतालमा  राखिएको छ । बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए ।

घटना पछि जिल्ला कारागार परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाका विषयमा अहिले जिल्ला सुरक्षा समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ । घटनाको अनुसन्धानका लागि छानबिनका समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।