‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’



गण्डकी । सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्ट १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले शिशुका लागि पहिलो भ्याक्सिन आमाको दूध भएको ठोकुवा गरे । उनले भने, ‘स्तनपान, अमृत समान’ त्यसै भनिएको होइन । शिशुका लागि आमाको दूध जत्तिकै संसारमा अरू केही छैन र यसलाई तुलना गर्न मिल्दैन ।’


पछिल्लो समयमा अप्राकृतिकरुपमा शिशुलाई खुवाइने दूधलाई प्रतिस्थापन गर्न विश्वले स्तनपान सप्ताह मनाउँदै आएको निर्देशक डा. खड्काले बताए । सिजेरियन सेक्सन (सिएस) गर्दा दूध नआउने र अप्राकृतिक रुपमा दूध खुवाउने क्रम बढिरहेको जनाउँदै उनले यस्तो हुनुमा भौतिक, मनोवैज्ञानिक र स्थानगत अवस्था प्रमुख कारण भएको जिकिर गरे ।

‘विना लगानीको कार्य आमाले गराउने स्तनपान हो यद्यपि आमामाथि भने लगानी गर्नुपर्दछ’, निर्देशक खड्काले भने, ‘पछिल्लो समयमा नेपाल सरकारले शिशुको स्तनपानका लागि सबै सरकारीदेखि सार्वजनिकस्थलमा स्तनपान कक्षको नीति ल्याएको छ ।’ यद्यपी कर्णालीका एकादबाहेक सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना नगरिएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले नेपालमा स्तनपानभन्दा मद्यमान कक्ष बढी भएको व्यङ्ग्य गरे । उनले भने, ‘हामी प्राकृतिकबाट अप्राकृतिकतर्फ गइरहेका छौँ । अनि कसरी हृष्टपुष्ट नागरिक उत्पादन हुन सक्छ ?’ यसले गर्दा प्राकृतिक स्तनपान प्रतिस्थापन गर्ने विरुद्ध सजाय गर्ने गरी सरकारले कानुन बनाउनुपर्ने बाध्यता आइलागेको प्रमुख गौतमको भनाइ थियो ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले स्तनपानको महत्व, यसको योगदान, नेपाल तथा कर्णालीको अवस्था, यसले पारेको प्रभाव र सरोकारवालाहरुले पूरा गर्नुपर्ने भूमिका सम्मिलित कार्यपत्र प्रस्तुत गरिन् । कार्यक्रममा प्रस्तोता भट्टराईले स्तनपानसम्बन्धी महत्वपूर्ण जानकारी, यस क्षेत्रमा थालिएको अभियान र गरिएका प्रयासबारे अवगत गराइन् ।

उनले विगतको स्तनपान गराउने विधि, तरिका, सोच र शैलीमा फरक आएको उल्लेख गर्दै अहिले धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दूध खुवाउनुपर्छ, बिगौती दूधको महत्व के हुन्छ, बच्चालाई दूध पुगे–नपुगेको थाहा पाउने कसरी भन्नेबारे सजिलै जानेको बताइन् । यति हुँदाहुँदै पनि अन्य प्रदेशभन्दा कर्णालीमा स्तनपानको अवस्था कमजोर रहेको उनको भनाइ छ । यसको कारण भनेकै शैक्षिक र आर्थिक कमोजरी भएको अधिकृत भट्टराईको भनाइ थियो ।