राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरु



काठमाडौं । संसदको अवरोध हटाउन राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

मंगलबार बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि स्थगन भएको थियो । बैठक अहिले केहिबेर अघिदेखि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।


आजको बैठकले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिको विषयको कार्यविधिको मस्यौदाले अन्तिम रुप दिन सक्ने बताइएको छ ।

एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सोमबार सहमत भएका थिए । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।