काठमाडौँ । स्पेन महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा स्पेनले नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यस खेलमा ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको समयमा स्पेनले गोल गर्दै खेल जितेको थियो । स्पेनको लागि खेलको १११औँ मिनेटमा सलमा केलेसले निर्णायक गोल गरेकी थिइन् । यस अघि खेलको ८१औं मिनेटमा स्पेनका लागि मारिओना कालडेनटेले गोल गरेकी थिइन् ।
त्यस्तै नेदरल्याण्डसका लागि खेलको ९१औ मिनेटमा स्टेफानी भान डेरले बराबरी गोल गरेकी थिइन् ।
अब सेमिफाइनलमा स्पेनले जापान र स्विडेनबीचको विजेतासँग खेल्ने छ । स्पेन महिला विश्वकपको इतिहासमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
क्वाटरफाइनल अन्तर्गतको खेलमा जापान र स्विडेनबीच अर्को खेल हुदै छ । यो खेल नेपाली समय अनुसार सवा १ बजेदेखि हुदै छ ।