मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर



किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।भालुको आक्रमणबाट मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

बुधबार दिउँसो मकै खोहोरीया काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।


भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताए । 

घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको उनले बताए । 

घाइतेको उपचारका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयसँग छलफल भएको उनले बताए ।  निकुञ्जसँगको छलफलपश्चात् घाइतेको उपचार बिरामी कुरुवाको खर्च बेहोर्ने सहमतिपछि गाउँपालिकाकै गाडीमा उपचारका लागि भोटखोलाबाट सदरमुकाम खाँदबारी प्रस्थान गरेको अध्यक्ष भोटेले बताए ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बर्सेनि आधा दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते हुने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।