मकवानपुर । मकवानपुर र काभ्रेको सिमानामा रहेको सिक्रे दोभानको पहिरोमा परी बेपत्ता भएका एक जनाको जीवितै उद्धार गरिएको छ । पहिरोमा परि बेपत्ता भएका उनको १४ घण्टापछि जीवितै उद्धार गरिएको हो ।
सकुशल भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीको अनुसार पहिरो गएको स्थानभन्दा केही तलबाट उनको उद्धार गरिएको हो ।
उद्धार गरिएका पासाङलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ। उनको खुट्टामा समस्या देखिएको छ भने अन्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए । पासाङ सिन्धुली हरिहरपुर–१ कोकटी घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।
पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य भइरहेको छ ।
अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भलसहितको पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पहिरोमा परी बागमती–५ सिक्रे दोभान बस्ने ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, निजको छोरी २२ वर्षीय शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी अझै हराइरहेका छन् ।