काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार भएको आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि भैंसेपाटीमा प्रत्येक प्रदेशका लागि एउटा भवन तयार भएको छ । सो भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ ।
ती भवन काठमाडौँ आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखले बस्नका लागि प्रयोग गर्नेछन् । उनीहरुका लागि सम्पर्क कार्यालय समेत राखिने भएको छ । उक्त आवास भवन तयार गर्न ८५ करोड लागत लागेको बताइएको छ ।
२७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ ।