काठमाडौँ । भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरूलाई सुधारगृहमा राखिएको थियो ।
बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो ।
उनको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुन : नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताएका छन् ।
सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।